त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउने

काठमाडाैँ । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरू मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ।

बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ।

त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबीए र एमबीएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी नगद रु ३० हजार प्रदान गर्नेछ।

बैंकले व्यवस्थापन विभागमा एमबीए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अवार्ड’ समेत प्रदान गर्ने बैंकले जनाएकाे छ।

यही साउन २४ गते नेपाल बैंक लि.को प्रधान कार्यालयमा सम्पन्न सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय विभागसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धान सम्बन्धी कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका निमित्त विभागीय प्रमुख सह प्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस