जीवन र निर्जीवन बिमा गर्दा हुने फाइदा

लिलाराम सापकाेटा 

पछिल्लो समय बिमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । खासगरी २०७२ सालको बैशाखमा आएको भूकम्पले मानविय तथा भौतिक क्षति पुर्याएपछि बिमा गर्ने बढेका हुन् । एक डेढ वर्ष अघि कुल जनसंख्याको ७ प्रतिशतले मात्र बिमा गर्ने गरेकोमा अहिले त्यो संख्या बढेर ११ प्रतिशत पुगेको बिमा समितिको भनाइ छ । केही बर्ष पहिलासम्म र अहिले पनि केही मानिसमा बिमा गर्ने पैसा अन्य ठाउँ (जग्गा, सेयर, सुन) किन्दा बढी फाइदा हुने भ्रम सर्वसाधारणमा छ । तर, भूकम्पमा परि बिमा गर्ने व्यक्तिको मृत्यु भएका परिवारले बिमा वापतको रकम प्राप्त गरेपछि र भूकम्पले क्षति बनाएका घर, गाडी तथा अन्य सम्पतीको बिमा पाउन थालेपछि बिमा गर्ने क्रम बढ्न पुगेको छ ।

भूकम्पले मानविय र भौतिक क्षति ठूलो पुर्यायो, त्यसको लेखाजोखा, हरहिसाव नगर्दा नै उचित हुन्छ । तर, भूकम्पले क्षतिमात्र पुुर्याएको छैन् ठूलो (शिक्षा) पाठ पनि सिकाएर गएको छ । जोखिम सबै आफैले राख्यो भने आफ्ना सन्ततीले केही पाउने रहेन छन् । तर, बिमा गरेर जोखिम बिमा कम्पनीको काँधमा राखि दियो भने आफु मरेर गएपनि वा विपतिले भौतिक संरचना ध्वस्त पारेपनि आफ्नो परिवारले दुःख नपाउने रहेछ भन्ने शिक्षा भूकम्पले दिएर गएको छ । बिमा गर्नु भनेकै जोखिम अर्कोलाई हस्तान्त्रण गर्नु हो । भूकम्पबाट पाठ सिकेर पनि धेरैजसोले बिमा गर्न थालेका छन् । पछिल्लो समय बिमा गर्नेको संख्या बढेका बिमा समितिको तथ्यांकले पनि पुष्टि गरेको छ ।

बिमा प्रतिको विश्वास र पहुँच

बिमाको पहुँच अहिले ११ प्रतिशत पुगेको बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं बताउँछन् । बिमाको पहुँच बढ्नुका मुख्य चार कारण रहेको उनले प्रस्ट्याए । ‘पहिलो कारण त बिमा कम्पनीको संरचनागत सुधार भयो,’ उनले भने, ‘यसले पनि बिमाको पहुँच बढायो ।’ बिमा कम्पनीको चुक्ता पुँजी बढाउनेलगायत काम यसै अन्तर्गत परेको अध्यक्ष चापागाईंले जानकारी गराए ।

विगतमा बिमा अभिकर्ताहरुले बिभिन्न माग राखी आन्दोलन गर्दा बिमाको विस्तारमा अवरोध पु¥याएको थियो । ‘तर अहिले बिमा अभिकर्ताले गर्नेे त्यस्तो आन्दोलन सदाका लागि अन्त्य गरिएकाले पँहुच बढाउन मद्दत पुग्यो,’ बिमाको पहुँच बढनुको दोस्रो कारण प्रस्ट्याउँदै उनले भने, ‘अभिकर्ताहरु गाउँगाउँ पुगेर बिमा गराउन थालेकाले पनि बिमा गर्नेको संख्या बढेको हो ।’ अध्यक्ष चापागाईंको भनाइमा बिमाको पहुँच बढ्नुको तेस्रो कारण बिमा सम्बन्धी सचेतना कार्यक्रम हो । यसले सर्वसाधारण नागरिक बिमा गर्न उत्सुक बनाएको उनको भनाइ छ ।

‘स्थानीय तहमा गएर बिमासम्बन्धी कार्यक्रम गरेका छौं,’ उनले भने, ‘यसले पनि बिमाको पहुँच बढउन मद्दत गरेको हो ।’ बिमा समितिले दाबी भुक्तानी प्रणालीलाई अनुगमनमार्फत चुस्त पारेकाले पनि बिमाको पहुँच बढाउन मद्दत गरेको अध्यक्ष चापागाईंको दाबी छ । ‘समयमै दाबी भुक्तानी गर्ने कामलाई प्राथमिकता दिन थालियो,’ उनले भने, ‘यसले गर्दा बिमाप्रति नागरिकको विश्वास बढ्यो र बिमाको पँहुच विस्तार भयो ।’

नेपालमा बिमाको इतिहास

मुलुकमा बिमा कम्पनी स्थापना भएको करिब ७० वर्ष भएको छ । यस अवधिमा करिब ११ प्रतिशत जनताले मात्र बिमा गरेका छन् । अझै पनि ८९ प्रतिशत नेपालीले बिमा गरेका छैनन् । नेपालमा बिमाको इतिहास हेर्ने हो भने करिब सात दशकअघि नेपाल बैंक लिमिटेडले आन्तरिक सम्पत्ति सुरक्षण गर्ने उद्देश्यले माल चलानी तथा बिमा अड्डाको नाममा निजी क्षेत्रको सहभागितामा २००४ सालमा पहिलोपटक बिमा कम्पनी स्थापना गरेको थियो । दक्षिणी छिमेकी भारत र नेपालमा बिमाको सुरुवात करिब एकै समयमा भए पनि त्यहाँ अहिले बिमा व्यवसाय निकै विस्तार भएको छ । नेपालमा अपेक्षाकृत रुपमा विस्तार हुन नसक्नुमा जनचेतनाको कमीले गर्दा हो । करिब ७० वर्षअघि करिब दुई दर्जन उद्योग स्थापना भएका र ती उद्योगको संरक्षणका लागि नेपालमा पहिलोपटक बिमा कम्पनीको स्थापना भएको थियो ।

विकसित देशमा बिमाको महत्व

बिमाको महत्व बुझेका कारण विकसित देशमा प्रायः सबै नागरिकले बिमा गरेका हुन्छन् । विकसित मुलुकमा ९८ प्रतिशतसम्म मानिसले बिमा गरेको जानकार बताउँछन् । तर, हाम्रो देशमा करिब ८९ प्रतिशत जनता बिमाको पहुँचबाहिर छन् । ‘विकसित देशमा बच्चा पेटमा आएपछि उसको बिमा गरिन्छ,’ एक बिमा विज्ञले भने, ‘हाम्रो देशमा बिमा बाध्यात्मक नहुँदा बिमा गर्नेको संख्या कम भएको हो ।’ बिमा व्यवसाय व्यवस्थापन, विकास र विस्तार गर्न नियमनकारी निकाय बिमा समिति स्थापना गरिएको छ । २०४९ सालमा बिमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै नयाँ बिमा ऐन २०४९ जारी गरियो ।

वैदेशिक रोजगारीमा जादा अनिवार्य बिमा

सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनिवार्य रुपमा बिमा गर्नुपर्ने प्रावधान ल्याएपछि बिमा गर्नेको संख्या बढेको बिमक संघको भनाइ छ ।  ‘वैदेशिक रोजगारीमा जाने व्यक्तिको अनिवार्य बिमालाई गणना नगर्ने हो भने ज्यादै न्यून प्रतिशत नेपालीले मात्र बिमा गर्ने गरेको पाइन्छ,’ एक विज्ञले भने, ‘सरकारले ७–८ वर्षअघिदेखि लागि गरिएको वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनिवार्य बिमा गर्नुपर्ने प्रावधानले बिमा गर्नेको संख्या ह्वात्तै बढेको हो ।’

जनचेतनाको कमी

ग्रामीण क्षेत्रमा बिमा गर्नेहरु ज्यादै कम छन् । ग्रामीण क्षेत्रमा जीवन बिमा गराउने कम्पनी पुग्न सकेका छैनन् । भौगोलिक अवस्थाले पनि बिमाको पहुँच बढाउन बाधा पुगेको बिमकहरुको भनाइ छ । बिमा समितिका अनुसार बिमा व्यवसाय विस्तारका लागि जनचेतनाको कमी मुख्य चुनौतीको रुपमा छ । बिमाबारे जनचेतना जगाउनु तथा शिक्षा दिनु पनि उत्तिकै जरुरी छ । सुरक्षित भविष्यका लागि बिमा गर्नु आबश्यक भएको महशुस गरिएपनि आर्थिक अभाव र जनचेतनाको कमीले बिमा गर्न सकिरहेका छैनन् । बिमा गर्दा जोखिम कम हुन्छ भन्ने जान्दाजान्दै पनि धेरै नागरिक बिमाको पहुँचबाट बाहिर छन् ।

निर्जीवन बिमा र यसको महत्व

सवारी साधनमा सर्वसाधारणको सहज पुहचसँगै बिक्री सङख्या पनि बढ्दो छ । सवारी साधनको खरिद बिक्रीमा नेपाल सरकारले तेस्रो पक्ष बिमा अनिबार्य गरेपछि नेपाल मोटर बिमा लेख जारी हुने क्रम बढेको छ । नेपालमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूले जारी गरेका बिमालेख मध्ये करीब ७० प्रतिशत हिस्सा तेस्रो पक्ष मोटर बिमाको रहेको छ । नेपालमा १७ वटा निर्जीवन बिमा कम्पनीहरुले मोटर बिमा सेवा उपलब्ध गराउदै आएका छन् । अझै पनि धेरै सवारीसाधन तेस्रो पक्ष बिमाको दायरामा आउन सकेका छैनन् । पछिल्लो समयमा सरकारको बाध्यकारी नीतिका कारण मात्रै तेस्रो पक्ष बिमा व्यापक हुन थालेको हो । यो भन्दा अघि अधिकांश सवारीधनीले तेस्रो पक्ष बिमालाई बेवास्ता गर्दै आएका थिए ।

मोटर बिमाका प्रकार

मोटर अन्र्तगत यान्त्रिक शक्तिद्धारा सडकमा गुड्ने सवारी साधनहरु मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदि पर्दछन् । यान्त्रिक शक्तिले चल्ने भए पनि रेल र स्टिमर मोटर बिमाको परिधिभित्र पर्दैनन् । यसरी हेर्दा दुई पाङग्रे र चार पाङग्रा टायर हालेर इन्धनद्धारा चलाईने साधनहरु नै मोटर बिमा अन्र्तगत पर्दछन् । हाल सञ्चालित १७ निर्जीवन बिमा कम्पनीहरुले विभिन्न खालका मोटर बिमा सेवा प्रदान गर्दै आएका छन् ।

किन गरिन्छ, तेस्रो पक्ष बिमा

आफनो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पतिलाई क्षति पु¥याएको अवस्थामा आई पर्ने आर्थिक जोखिम हस्तारन्तण गर्नु नै तेस्रो पक्ष बिमा हो । यस योजना अनुसार आफनो सवारी साधनले अन्य साधन वा सम्पतिलाई हानी पु¥याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ ।

यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनु पर्दैन । तर, तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नु पर्ने हुन्छ ।

तेस्रो पक्ष बिमा कसरी गर्ने ?

सवारीसाधनको तेस्रो पक्ष बिमाका लागी बिमा समितिले नै निश्चित मापदण्ड तोकेको छ । समितिको मापदण्डअनुसार बिमा गर्दा सवारीधनीले सम्बन्धित सस्थामा विभिन्न कागजपत्र बुझाउनु पर्ने हुन्छ । सवारीसाधन खरीद गर्ने निश्चित भएपछि विश्वासिलो कम्पनी छनोट गर्नुपर्छ ।

बिमाका लागी ब्लूबूकको फोटोकपी वा सवारी साधन बिक्रेता कम्पनीले दिएको भ्याट बिलको नक्कल, सवारीधनीको परिचय खुल्ने प्रमाणपत्र र एक प्रति फोटो आवश्यक पर्छन् । यी कागजपत्र जुटाइसकेपछि कम्पनीले उपलब्ध गराएको एउटा फारम भर्नुपर्छ । साथै, सवारीधनीले केवाईसी (नो योर कस्टमर) फारम पनि भर्नुपर्छ । यदि सवारीसाधन कुनै संस्थाको नाममा छ भने संस्थाको प्रबन्धपत्र नियमावलीको एक प्रति फोटोकपी, संस्था प्रमुखको परिचय खुल्ने प्रमाणपत्र तथा बिमा कम्पनीसँग सम्झौता गर्ने व्यक्तिको परिचयपत्र पनि बुझाउनुपर्छ । उल्लेखित कागजपत्र बुझाइसकेपछि कम्पनीको प्रतिनिधि गएर साधनको परीक्षण गरी फोटो खिच्छ । कम्पनीले पनि बिमा सम्झौतालाई स्वीकार गरेपछि दुई पक्षबीच बिमा सम्झौता हुन्छ । १ वर्षका लागि मात्र हुने भएकाले अर्को वर्ष पुन नबिकरण गर्नु पर्छ ।

कसरी हुन्छ बिमा दाबी भुक्तानी ?

तेस्रो पक्ष बिमाको दाबी गर्न दुर्घटना हुनासाथ सम्बन्धित कम्पनीलाई खबर गर्नुपर्छ । साथै, प्रहरीलाई पनि जानकारी गराउनु पर्छ । कम्पनीले दुर्घटनाको प्रकृति हेरेर सर्भेयर खटाउन पनि सक्छ । दुर्घटनाको प्रकृती अनुसार कम्पनीको प्रतिनिधि आफै गएर पनि हेर्न सक्छ । कुनै अवस्थामा भने कम्पनीले आवश्यक कागजपत्र मात्रै पनि मगाउन सक्छ । जस्तै, तेस्रो पक्ष को हो, कहाँ मत्यु भएको हो, त्यसको प्रहरी प्रतिवेदन, लास जाँचको रिपोर्ट, मृतकको नागरिकताको प्रमाणपत्र, नजिकको हकदारको प्रमाणपत्र, जिल्ला कार्यलयबाट प्रमाणित गरेको नाता प्रमाणित पत्र आदि माग्न सक्छ । मृतकको हकमा नजिकको व्यक्तिलाई कम्पनीले रकम भुक्तानी गर्छ । त्यस्तै, दुर्घटना भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई नै दिन्छ । कहिलेकाही बिमित अर्थात् सवारीेधनीलाई पनि भुक्तानी गर्छ । तेस्रो पक्ष घाइते भएको अवस्थामा सवारीधनीले नै सबै खर्च बेहोरेको छ भने कम्पनीले उसलाई नै दाबी भुक्तानी दिन्छ । यसका लागि भने कागजपत्र बुझाउनुपर्छ । यसैगरी अहिले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै सम्बन्धित व्यक्ति (परिवार र नातेदार)लाई भुक्तानी गर्ने नियम पनि छ ।

सरकारी गाडीको बिमा गर्ने कम

सरकारी कार्यालयले खासै तेस्रो पक्षीय बिमा गर्दैनन् । रकम अभाव लगायतको तर्क अगाडि सार्ने गरेको बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले बताए । बिमा बिनै अहिले सडकमा करिब १० हजार सरकारी गाडी गुडिरहेका छन् । यातायात ब्यवस्था ऐन ०४९ ले सडकमा गुड्ने सवारी साधनको अनिवार्य तेस्रो पक्षीय बिमा गर्नुपर्ने तोकेको छ । ऐन आएको १७ वर्षपछि (०६६ भदौमा) सरकारले आफू मातहतमा हरेक निकायलाई बिमा अनिवार्य गरेको थियो । तर, अहिलेसम्म कुनै निकायले पालना गरेका छैनन् । जबकि ब्यवसायिक तथा निजी प्रयोजनका सवारी तेस्रो पक्ष बिमा नगरी सडकमा गुड्न पाउँदैनन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स तलब बचत खाता : ग्राहकलाई फाइदै फाइदा

काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो …

प्रतिकृया दिनुहॊस