नेपाल विद्युत प्राधिकरणले डेढ महिनामा भारतलाई बेच्यो दुई अर्ब १५ करोडको बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेढ महिनामा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बेचेको हो ।

प्राधिकरणले गत जेठ १९ गतेदेखि भारत बिजुली निर्यात गर्न थालेको थियो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर क्षेत्रीले प्राधिकरणले दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेको जानकारी दिएका छन् । ‘प्राधिकरणले जेठ १९ यता दुई अर्ब १५ करोड रूपैयाँ बराबरको बिजुली भारत निर्यात गर्दै आइरहेको छ,’ उनले भने, ‘प्राधिकरणले अहिले औसतमा भारु ४ देखि ६ रूपैयाँप्रति युनिट बिजुली निर्यात गर्दै आइरहेको छ ।’

प्राधिकरणले गत जेठ १९ गतेदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न शुरु गरेको थियो । नेपालमा बिजुलीको उत्पादन बढेसँगै प्राधिकरणले गत जेठ २७ गतेदेखि भने ३६४ मेगावाट बिजुली निर्यात गर्दै आइरहेको छ । यसअघि प्राधिकरणले जुन महिनाको २८ दिनको अवधिमा एक अर्ब ७२ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको थियो । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रति युनिट दर ९ रूपैयाँ ६७ पैसा छ ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणका प्रवक्ता क्षेत्रीले प्राधिकरणले अधिकतम ३६४ मेगावाट बिजुली निर्यात गर्दै आइरहेको जानकारी दिएका छन् । प्रवक्ता क्षेत्रीले भने-‘२४ सै घण्टा ३६४ मेगावाट निर्यात गर्न त सकिएको छैन तर औषतमा दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेका छौं ।’
प्राधिकरणले नेपालमा रातको समयमा बिजुलीको खपत कम हुने भएकाले पनि रातको समयमा पूणर् क्षमतामा निर्यात गर्न सकेको बताए ।

प्रवक्ता क्षेत्रीले गर्मी बढेको खण्डमा बिजुलीको माग बढी हुने र पानी परेको खण्डमा माग न्यून हुने बताएका छन् । ‘अहिलेसम्म ३६४ मेगावाट बेच्न पनि कहिलेकाहीं अप्ठयारो हुने गरेको छ’, उनले भने । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो ।

सो भेटघाटपछि नेपालको बिजुली भारत निर्यात गर्ने ढोका खुलेको थियो । प्राधिकरणको स्वामित्वका त्रिशुली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’ को १४० मेगावाट, मध्य मर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु-४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिक रूपमा भारतीय बजारमा निर्यात हुँदै आइरहेको छ ।

पानी परेसँगै नदीनालामा पानीको वहाव बढेर विद्युत गृहहरू पूणर् क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर-मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ । प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा भारतबाट २१ अर्ब ३९ करोड रूपैयाँ बराबरको बिजुली आयात गरेको थियो । आव ०७७/७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल दुई अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भएको थियो ।

यो आव ०७६/७७ को उत्पादन तीन अर्ब दुई करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले कम हो । आव ०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत प्राप्त भएकोमा गत आवमा ८.६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट पुगेको छ । यस्तै, आव ०७६/७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा १३ अर्ब ४२ करोड रूपैयाँको बिजुली भारतबाट आयात गरिएको थियो । प्राधिकरणको उत्पादन घटेको कारणले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ । गत आवमा प्रणालीमा आठ अर्ब ८७ करोड युनिट घन्टा विद्युत् उपलब्ध भएको थियो । यो आव ०७६/७७ को ७ अर्ब ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस