शेयर वजारमा कसैको शेयर उक्साउने र कसैको कौडीको भाउमा पुर्याउने काम हुँदो रहेछ

विश्वेश्वर सुवेदी कार्यकारी निर्देशक, लोवर इर्खुवाखोला, डाईरेक्टर नेशनल हाइड्रोपावर

पर्वत जिल्लाको ठूलपोखरी गाविसमा जन्मिएका विश्वेश्वर सुवेदी हाल हाईड्रोपावर क्षेत्रमा क्रियाशिल छन । अहिले नेशनल हाईड्रोपावर कम्पनीमा डाइरेक्टर, लोवर इर्खुवाखोलामा प्रबन्ध निर्देशक तथा सुनकोशी हाईड्रोमा अध्यक्ष (सुनकोशी खारेजी भएको), कामना सेवा विकास बैंकको नेतृत्व सम्हालिरहेका छन् । ब्यवस्थापकीय क्षमता र कुशलताका धनी सुवेदीले चितवनबाट विद्यालय स्तरीय अध्ययन गरे भने मास्टर्स डिग्री त्रिभुवन विश्वविद्यालयबाट सके । अहिले शेयरवजारको अवस्था राम्रो छैन तर २०६२÷०६३ मा शेयर उकालो लागेको बेला उनी शेयर वजारमा आकर्षित भए ।

त्यो बेला शेयर वजारका हस्तीहरु ज्ञानेन्द्रलाल प्रधान तथा कुमार पाण्डेहरु शेयर र हाइड्रोपावरमा लगानीकर्ताकारुपमा देखिएका र चिलिमे हाईड्रोपावरमा शेयर किन्नेहरु लखपती भएको समाचार पत्रिकामा पढेपछि उनीलाई शेयर वजार बाहेक अरु क्षेत्रले आकर्षित गर्न सकेन । उनी यसैमा भिज्दै गए । ज्ञान आर्जन गर्दै गए । निरन्तरको मेहेनत र परिश्रमका कारण फलतः हाईड्रोपावर कम्पनीको नेत्तृव तहमा पुगे । हाल शेयर वजार, हाईड्रोपावर तथा बैंकमा मात्रै होईन खेलकूद क्षेत्रमा समेत उनको राम्रो दख्खल छ ।

२०६१ को सितेरियो करातेका व्ल्याक बेल्ट हुन, सुवेदी ।आम नेपालीको जस्तै सामान्यरुपले बाल्यकाल विताएका उनका बुवा प्रधानपञ्च र जिम्मुवाल थिए । के खाउँ र के लाउँको अवस्था जीवनमा कहिल्यै नआएको र पुख्र्यौली सम्पतिले राम्रैसँग जीवन धान्न सक्ने अवस्था थियो । तथापि एसएलसी सकेपछिनै जागीर गरेर आफ्नो अध्ययनलाई निरन्तरता दिएको उनी अनुभव सुनाउँछन् ।ल आमाको साथ काठमाण्डौमा बस्दै आएका विश्वेश्वर सुवेदीले शेयर वजारको क्षेत्रमा प्रवेश गर्दादेखि अहिले सम्म आईपुग्दाको उतार, चढाव, अनुभव सुनाए । सम्पादक कल्पना शर्मासँग हाईड्रोपावर क्षेत्रमा क्रियाशिल विश्वेश्वर सुवेदीले नेशनल हाईड्रोपावर तथा यसबाट सञ्चालित आयोजनाहरुका बारेमा विस्तृतरुपमा राखेको धारणाको अंश—

०६२÷०६३ मा नेपालमा शेयर वजारको अवस्था एकदमै राम्रो थियो । त्यो बेलाको शेयर घट्न जानेकै थिएन । दिनप्रतिदिन उकालो लाग्थ्यो । यसैक्रममा शेयरबजार क्षेत्रमा काम गरिरहेका अग्रज तथा साथीभाईसँग संगत भयो । यो क्षेत्रलाई मैले नजिकबाट नियाल्ने मौका पाएँ । यहि समयमा शेयर वजारमा छिर्न सकें भने अन्य क्षेत्रमा लाग्नुपर्दैन भन्ने अनुभूति भयो । यति राम्रो पैसा फल्ने ठाउँ छाडेर दुख पाउन किन विदेश जानु भन्ने सोच पनि आयो । बजार आकर्षक देखेपछि ऋण पनि लिएँ । मास्टर्स डिग्रीको अध्ययन सकिसकेपछि यहि क्षेत्रमा लगानी पनि बढाउँदै लगें ।

काम गर्दै जाँदा बैंकिङ क्षेत्रमा माथिल्लो तहमा काम गर्ने रहर पनि पलायो । वुटवलमा केन्द्रीय कार्यालय भएको तत्कालीन (सेवा विकास बैैक) ले पब्लिकमा शेयर जारी गरेको थियो । सोही बैंकमा पहिलोपटक सञ्चालक समितिमा रहेर पब्लिकको प्रतिनीधित्व गरें । बैंकमा काम गर्ने क्रममा त्यो क्षेत्रका उद्योगी, व्यापारीहरुसँग सम्पर्क बढ्दै गयो । बैंकमा काम सँगसँगै शेयर वजारको बारेमा मसिनो गरी अध्ययन गर्ने मौका पाएँ । बैंकमा काम गर्दागर्दै हाईड्रोपावरमा आकर्षित भएर नेशनल हाईड्रोपावरको केहि शेयर खरिद गरें ।

तर व्यबस्थापकीय कमजोरीका कारण नेशनल हाईड्रोपावर कम्पनी वजारमा बद्नाम हुँदै गयो । आम लगानीकर्ता यो आयोजनामा चुर्लुम्म डुबेका थिए । कम्पनीमा चरम भ्रष्ट्राचार, लथालिङ्ग, भताभुङ्ग अवस्थामा थियो । यसै कम्पनीमा मेरो पनि लगानी डुबेकाले उतार्नुपर्छ भन्ने सोच आयो । यसैक्रममा साथीहरु मिलेर शेयर लगानी कर्ता संघ भनेर दर्ता गर्यौं । शेयर बजारमा हुने विकृति तथा विसंगतिलाई रोक्ने हाम्रो मूल उदेश्य थियो । मेरो पहलमा शेयर लगानी कर्ता संघको गठन भएको थियो । शेयर वजारमा कसैको शेयर उक्साउने र कसैको कौडीको भाउमा पुर्याउने काम हुँदो रहेछ भनेर मैले राम्ररी बुझें । जसअनुसार मन्त्रीको सहसचिवस्तरीय छानविन समिति बनाएर बैंक खाता अनिवार्य गराउने, पान नं अनिवार्य गराउने लगायतका शेयर वजारलाई ब्यबस्थित बनाउने कामको सुरुवात हाम्रो आन्दोलनले गरेको हो ।

केहि समय संघले निकै राम्रो भुमिका निर्वाह गर्यो । पछि यसमा संलग्न व्यक्तिहरुका विभिन्न आग्रह तथा पूर्वाग्रहका र शक्ति केन्द्रहरुको चलखेल भएर यो संघ फुट्यो । फलतः यो तीनवटा समूहमा विभाजित हुन पुग्यो । अहिले सो समूह जन्माउने र फुटाउने साथीहरु शेयर वजार क्षेत्रमै कार्यरत छन् । त्यहि बेला नेशनल हाइड्रोको दयनीय अवस्था देखेर मलाई निकै पीडा महशुस भयो ।

सर्वसाधारणले दुःख गरेर कमाएको पैसा त्यसरी डुबिरहेको थियो । यसलाई कुनै हालतमा डुब्न दिनु हुँदैन र शेयर वजारमा लगानी गर्नु असुरक्षित होईन भनेर प्रमाणित गर्नु ठूलो चुनौती थियो । केहि नलागेर नेशनल हाइड्रोकै संस्थापकका विरुद्धमा पनि हामीले धावा बोल्यौं । लगानीकर्तालाई एकीकृत गराउने काम पनि गर्यौ । त्यो बेला एनबी गु्रपले नेशनलको नेतृत्व गरेको थियो । संस्थागत सुशासन जीरो थियो । लगानीकर्ताहरु एकजुट भयौं । यति ठूलो कम्पनीमा कुनै समूहको मात्रै दादागिरी किन ? भनेर सामान्य शेयर धनीहरु समेत जागरुक भए ।

हामीले कम्पनीमा सुशासन देखि सबैकुरा फर्कायौं । सुरुको कार्यकालमा म निर्वाचित भएँ । यो कम्पनीमा मेरो अहिले दोस्रो कार्यकाल हो । कम्पनीले गएको ८÷१० वर्षदेखि कर तिरेको थिएन । कर कार्यालयले जुनसुकै बेला पनि खाता रोक्का गर्न सक्ने अवस्था थियो । कम्पनी रजिष्ट्रारमा समेत अपडेट थिएन । हामीले गरेको सकारात्मक पहलका कारण अहिले नेशनल हाइड्रो एउटा व्यबस्थित कम्पनीकारुपमा अगाडि बढेको छ । प्रत्येक त्रैमासमा हामी यसको रिपोर्ट प्रस्तुत गर्छौ । सार्वजनिकरुपमा कम्पनीको हिसाव देखाउन सक्ने अवस्था सिर्जना भएको छ । त्यो बेलाका सञ्चालकले जानेर÷नजानेर कम्पनीलाई अदोगतीतिर लाने काम गरेकाले अहिले पनि ऋण तिर्दैछ ।

अहिले कम्पनीलाई ब्यवसायिकरुपमा अगाडि बढाउन सक्षम भएका छौं ।
यसबाट मुख्य समस्या ९७ प्रतिशत नेशनलको र ३ प्रतिशत एनवी समूहको शेयर भएको साढे चार मेगावाटको सुनकोशी हाईड्रोलाई पर्यो । सुनकोशी हाईड्रोमा लगानी गर्ने भनेर नेशनल हाईड्रोले १ः१ को राईट जारी गर्यो । राईट जारी गरेर ७० करोड पैसा उठायो । ७० करोड पैसामध्ये ३५ करोड सुनकोशी निर्माणमा लगानी भयो । बाँकी रकम ब्याज तिर्न खर्च भयो । त्यो भनेको एक हिसावले अनावश्यकरुपमा खर्च भएको पैसा हो । सुनकोशी निर्माण भएको भए त्यसले प्रतिफल दिने थियो तर नबनेपछि त्यसको सम्पूर्ण दायित्व नेशनलले लिनुपर्ने अवस्था आयो । कम्पनीको पूँजी बढेर १ करोड ३८ लाख भयो । पूँजी बढ्ने तर आम्दानी नबढ्ने अवस्था आयो ।

नेशनलबाट निर्माणाधिन सुनकोशीको लाईसेन्स सरकारले खारेज गरिदिएको छ । कार्यप्रगति सन्तोषजनक नभएको, वित्तीय व्यबस्थापन गर्न नसकेको र परियोजना समयमा सम्पन्न नभएको कारण देखाउँदै कम्पनी खारेजी गरिदिएपछि त्यसको ऋणको पनि प्रोभिजिन गरिदिनुपर्यो । आजको दिनमा नेशनल हाइड्रोमा देखिएको ४३ करोडको नेगेटिभ रिजर्भ भनेको सुनकोशीमा गरेको लगानी ऋण प्रोभिजन गर्दाखरीको दायित्व हो । हामीले सुनकोशीको लाईसेन्स फिर्ता ल्याउँदाको दिनमा त्यो सबै प्रोभिजन व्याक भएर आउँछ ।

लगानीकर्तालाई आजकै दिनमा प्रतिफल दिन सकिन्छ । ४३ करोड फिर्ता नआउने बेलासम्म हामी काम गर्न सक्दैनौं । सुनकोशीको ३ किलोमिटर टनेलमा २ किलोमिटर खनिसकेर, जग्गा समेत खरिद भइसकेको अवस्था हो । यसको लगभग ६० प्रतिशत काम पनि सकिसकेको छ । अलपत्र परेको आयोजनालाई व्युँताएर नेशनलले सञ्चालनमा ल्याउन सक्यो भने यसको अवस्था धेरैनै राम्रो हुन्छ । सकेन भने केहि वर्ष यसको शेयरको अवस्था प्रतिकूल रहने देखिन्छ । विभिन्न क्षेत्रका दक्ष व्यक्तित्वहरुलाई समेटेर राम्रो समूहको निर्माण गरेका छौं । नेशनल हाइड्रोजस्तो कम्पनीमा वार्षिक साधारणसभामा हेल्मेट लगाएर आउनुपर्छ की भनेर डराउने अवस्था थियो । यस्तो विग्रेको कम्पनीमा शेयरधनीको सर्वसम्मतिमा बोर्ड गठन हुनु भनेको आफैमा अत्यन्तै राम्रो सुरुवात हो ।

नेशनल हाईड्रोमा हाल कार्यरत कार्यकारी अध्यक्ष यो क्षेत्रमा विगत २५ वर्षदेखि कार्यरत अनुभवी व्यक्ति हुनुहुन्छ । नेशनल हाइड्रो सञ्चालन गरेर यसको भविष्य छैन, ३० वर्षपछि यो प्रोजेक्ट सरकारलाई हस्तान्तरण गरेपछि यसका शेयरधनीको भविष्य के हुने ? यसले कमाएको पैसालाई अन्य प्रोजेक्टमा लगानी गर्दै गईयो भने मात्रै यसको भविष्य छ ।

पहिलो अलपत्र परेको साढेचार मेगावाटको सुनकोशी आयोजना, दोस्रो १४ मेगावाटको लोवर इर्खुवा खोला आयोजना र तेस्रोमा १३ मेगावाटको मादमे खोला जलविद्युत आयोजना छन । यसमध्ये इर्खुवाखोलाको आउँदो कात्तिकदेखि निर्माण सुरु गर्ने लक्ष्य राखेका छौं । मादमेखालाको भर्खरै अध्ययन भर्खरै सकिएको छ र सुनकोशीको आधा काम सकिसकेकोले लाईसेन्स पाएको २ वर्षभित्र बत्ती बल्छ । हाम्रो मोडालिटी भनेको एकैचोटि सबै पोजेक्ट सक्ने भन्दा पनि पालो पालो गरेर निर्माण गर्ने हो ।

भर्खरै सरकारले विद्युत विकासका लागि चौध लाख रुपैयाँ छट्याएको छ । यति पैसाले के के कुरा विकास गर्ने हो त्यो चैं छुट्याउनेलाई नै थाहा होला । यो क्षेत्रमा यति पैसा वुलेटिन र सचेतनाको काम गर्न पुग्छ । अरु के हुन्छ ? यसबाट नीजि क्षेत्रले वुलेटिनको माध्यमबाट हाईड्रोपावरबारे अध्ययन गर्न पाउँछन् । यसवाहेक के विकास हुन्छ ?

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस