‘समृद्धिका लागि बाघको संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्व बाघ दिवस मनाइदै

‘समृद्धिका लागि बाघको संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्व बाघ दिवस मनाइदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि बाघ पाइने देशहरुमा बाघ पूरै नष्ट हुने चिन्ता बढेर गयो । यस्तो चिन्ताको समाधान गर्न बाघ पाइने राष्ट्रहरुले बाघको संरक्षणमा विशेष पहल गरी योजनाबद्ध रुपमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाए ।

रुसमा भएको सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर पुरयाउने लक्ष्य पनि निर्धारण गरयो ।नेपाल सरकारले पनि सन् २०२२ सम्म बाघको संख्या २५० बनाउने प्रतिबद्धता जनाएको छ । त्यसै अनुसार नेपालमा अहिले बाघको संरक्षणका लागि कामहरु भइरहेका छन् ।
नेपालमा बाघको संख्या

बाघको संख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा ४, पर्सा राष्ट्रिय निकुञ्जमा ७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ रहेका थिए ।

नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुरयाउने लक्ष्य अनुसार संरक्षणको काम भइरहेको सरकारले जनाएको छ । पछिल्ला वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया र शुक्लाफाँटामा बाघको बासस्थान सुधार गरिनु, आहाराको व्यवस्थापन गरिनु लगायतका कारणले संख्या बढ्दै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।

बाघ संरक्षणका चुनौती

बाघ संरक्षणका लागि बाघ पाइने संसारका राष्ट्रहरुले आ–आफ्नै तरिकाले पहल गरे पनि अझै ठूलो चुनौती कायमै छ । बाघ संरक्षण कार्यमा चोरी शिकार मुख्य समस्याको रुपमा अगाडि आएको छ । जनसंख्या वृद्धिसँगै वनविनाश र अतिक्रमण, बढ्दो सहरीकरण, सडक, बाँध निर्माणलगायतका कारण बाघ संरक्षणमा थप चुनौती आएको छ ।

त्यस्तै बाघका पूर्ण मांसाहारी भएकाले उसको आहारा हरिण, जंगली बँदेल, लगुनालगायतका जनावर हुन् । तिनीहरुको संख्या घट्दै जानाले पनि बाघको आहारामा ह्रास आएको छ । बाघको आहारा बढाउन ती जन्तुको संख्या पनि बढाउनुपर्ने आवश्यकता छ । यिनीहरुको घट्दो संख्याले पनि बाघको संरक्षणमा बाधा पुगेको छ । जलवायु परिवर्तनका कारणले पनि अहिले बाघले बासस्थान परिवर्तन गर्ने अवस्था देखिएको छ । तर सबैतिर जंगलको विनाशले बाघको बासस्थान फैलिन सक्ने अवस्था छैन ।

बाघ विनाशको मुख्य कारण

बाघ विनाशको प्रमुख कारण भने चोरी शिकार नै हो । बाघको मुख्यतया छाला र हड्डीका साथै मासु, बोसो, पेट, अण्डकोष, पित्त, आँखा, नाक, दाँतको पनि अवैध व्यापार हुने गर्दछ । जसको मुख्यबजार छिमेकी देश चीनलाई मानिन्छ । त्यहाँ बाघका विभिन्न अंगलाई औषधिको रुपमा प्रयोग गर्ने बताइन्छ । बाघका अगंहरुको कुनै औषधीय उपयोगिताबारे वैज्ञानिक पुष्टि त भएको छैन तर कतिपय अन्धविश्वास, परम्परागत संस्कार र भ्रामक प्रचारका कारण यसको तस्करी बढिरहेको छ ।

बाघका अंगहरु उपयोगको परम्परा

बाघको छाला पहिलेदेखि नै संसारका धनाढ्यहरुको शानको रुपमा लिइँदै आएको हो । कोठा सिंगार्ने, धार्मिक कार्य र कपडाको रुपमा प्रयोग गर्ने चलन थियो । जसका कारण पनि बाघकोे चोरी शिकार र बजार माग अभैm पनि अधिक देखिन्छ, कम भएको छैन । पछिल्लो संक्रमणकालीन राजनीतिक अवस्था र कमजोर कानुनको फाइदा उठाउँदै नेपालमा पनि चोरी शिकार बढिरहेको छ । अन्तर्राष्ट्रिय तस्करहरुले पनि नेपालका यिनै कमजोरीको फाइदा उठाउँदै नेपालको बाटो प्रयोग गरेर विभिन्न देशमा बाघका अंगहरु तस्करी गर्ने गरेका छन् । उनीहरुले बेलाबखत नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमासमेत प्रयोग गरिरहेका समाचारहरु आइरहेका छन् ।

बाघ पाइने राष्ट्रहरु

संसारका १४ देशहरु नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्यान्ड र भियतनाममा मात्र बाघ पाइन्छन् ।

संरक्षित क्षेत्र र त्यसबाहिर रहेका बाघ संरक्षण र चोरी शिकार नियन्त्रणका लागि पनि संरक्षणसम्बन्धी ठोस कार्ययोजना बनाउन र लागू गर्न जरुरी छ । बाघ हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण हामी सबैको कर्तव्य हो ।

मोहन सिपाडोल

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस