गोर्खाल्यान्ड आन्दोलनको वार्ता आज

गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् ।

दुई साताअघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) बीच अन्तरकलह सुरु भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो ।

सिलिगुडी वार्तामा यी दुवै गुटका नेताहरूसहित गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमूल सहभागी बन्ने पक्का भएको छ । अध्यक्ष गुरुङले वार्ताका लागि विधायकहरू अमरसिंह राई, रोहित शर्मा, सरिता राई, कालिम्पोङ नगरपालिकाका अध्यक्ष शुभ प्रधान र गोजमुमोका केन्द्रीय सदस्य सौगन थापाको नाम सार्वजनिक गरेका छन् । त्यस्तै, तामाङ गुटबाट अनित थापा, एलेम लामा, करुणा गुरुङ र छिरिङ दाहालले वार्तामा भाग लिनेछन् । मोर्चाका केन्द्रीय सदस्य आरबी भुजेलको नाम दुवै गुटमा छ ।

जनआन्दोलन पार्टीका अध्यक्ष हर्क क्षत्रीले मंगलबारको वार्तापछि राज्य सरकारले त्रिपक्षीय वार्ताको पहल गर्न सक्ने बताएका छन् । उनले त्रिपक्षीय वार्ता सुनिश्चित भएपछि मात्र दार्जिलिङको अनिश्चितकालीन हडताल खुल्ने जनाए । पश्चिम बंगाल सरकारले राज्यका सबै स्कुलमा (कक्षा १ देखि १० सम्म) बंगला भाषाको पठनपाठन अनिवार्य गर्ने निर्णय लिएपछि गत जुलाई ८ देखि दार्जिलिङका नेपालीभाषी आन्दोलित बनेका हुन् । भाषा विवाद नै गोर्खाल्यान्ड बनाउने आन्दोलनको वर्षौं पुरानो मागमा केन्द्रित बनेको हो ।

राज्यका शिक्षामन्त्री पार्थ चटर्जीले यहाँका सबै स्कुलमा अनिवार्य रूपमा बंगला भाषा पढ्नुपर्ने घोषणा गरेका थिए । सरकारले बंगालमा प्रचलित बंगला, अंग्रेजी, हिन्दी, नेपाली, उर्दू र गुरुमुखी भाषामध्ये कुनै तीन भाषा रोज्न सकिने बताउँदै दोस्रो या तेस्रो भाषामा बंगला अनिवार्य रूपमा रोज्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको थियो ।

सरकारी कदमको विरोधमा सिंगो दार्जिलिङ आन्दोलित भइरहेका बेला मुख्यमन्त्री बेनर्जीले गत जुलाई १५ मा पहिलो पटक दार्जिलिङमै क्याबिनेट बैठक गर्ने निधो गर्दा स्थिति झन् तनावग्रस्त बनेको थियो । त्यसको भोलिपल्ट १७ तारिखका दिन सुरक्षाकर्मीको गोलीबाट ३ जना मारिएका थिए । यो आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस