मान्छे (मन्दाक्रान्ता छन्द)

केशव दुवाडी
नौलो आयो चलन अहिले नेटमा भुल्छ मान्छे
हुन्छौं संगै तर चुप बसी च्याटमा खुल्छ मान्छे ।
नातागोता तिर पनि नभै सेटमा हुन्छ मान्छे
साथी भन्दा अपरिचितको भेटमा झुम्छ मान्छे ।।
गाउँ खाली तर सहरको भीडमा हुन्छ मान्छे
मान्छेको भीड छ तर यहाँ एक्लिएको छ मान्छे ।
मान्छेको नै भर सहरमा आसमा हुन्छ मान्छे
मान्छे को नै डर सहरमा त्रासमा हुन्छ मान्छे ।।
चौतारीमा बरपिपल छन् बस्दिने छैन मान्छे
थोत्रा रित्ता घर वतन छन् पस्दिने छैन मान्छे ।
टाढा खाडी मुलुक तिरको नोकरीमा छ मान्छे
आमा रुन्छिन् घरतिर बसी देशमा छैन मान्छे ।।
रोधी,ख्याली पनि चलनमा राख्न मान्दैन मान्छे
ठाडो भाका भजन पनि खै भन्न जान्दैन मान्छे ।
दोहोरी गीत पनि बनमा छैन,भन्दैन मान्छे
आफ्नो भाषा पनि सहज खै बोल्न खोज्दैन मान्छे ।।
नेवारी मैथिल अवधका बात बुझ्दैन मान्छे
शेर्पा भोटे थरुहट कुरा सिक्न खोज्दैन मान्छे ।
हाम्रो भाषा विविध छ भनी बुझ्न खोज्दैन मान्छे
नेपाली संस्कृति बहुल छन् बुझ्न खोज्दैन मान्छे ।।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस