बचत संकलनमा कुनै समस्या देखिएको छैन


 रमण नेपाल, कार्यकारी निर्देशक, नागरिक लगानी कोष

बित्तीय क्षेत्रमा लामो अनुभव संगालेका भएका रमण नेपाल केही समय अघि देखि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । नेपाल सरकार अर्थमन्त्रालयबाट खुल्ला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा आएका उनी नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग, निरीक्षण तथा सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग लगायतका विभिन्न महत्वपुर्ण विभागहरुमा रही ३० बर्ष सेवा सकेर अवकाश प्राप्ती पश्चात कोषमा आएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नाकोत्तर र पोखरा विश्वविद्यालयबाबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका नेपालसँगको कुराकानी

केहि समय अगाडि नागरिक लगानी कोषमा कार्यकारी निर्देशक बन्नुभएको छ, कोषको बारेमा जानकारी दिनुस् न ?
नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धिको माध्यमबाट लगानीका अवसर बढाई पुँजी बजारको विकास गराउने उद्देश्य हो ।
यो कोषले बचत संकलन, पुँजी बजार सेवा तथा लगानी व्यवस्थापनमा काम गरिरहेको छ । अहिले बचत संकलनमा कुनै समस्या देखिएको छैन । बचत संकलनको लागि कोषले नयाँ कार्यक्रमको परिकल्पना समेत गर्न सक्छ र गरिरहेको पनि छ । कोषले परिचालन गरेको वचत उत्पादनमुलक तथा पुर्वाधार विकासका परियोजनामा लगानी गर्नुपर्ने हुन्छ ।

अहिले कोषको फण्ड कति पुग्यो ?
चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा कोषमा कुल संकलित रकम १ खर्ब ११ अर्ब ५८ करोड रुपैया पुगेको छ । यस अबधिमा सहभागी संख्या ६ लाख ४० हजारको हाराहारीमा पुगेका छन । कोषमा अहिले मुलकभरका ६० हजार भन्दा बढि कार्यालय सहभागी रहेका छन ।

हाल कोषले कस्ता योजना संचालन गरिरहेको छ ?
कोषले ११ वटा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । ती कार्यक्रममा कर्मचारी बचत वृद्धि स्वीकृत अबकास कोष, उपदान कोष, एकांक योजना, लगानीकर्ता हिसाव योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष र राष्ट्रिय बिमा अनुसन्धान बिमा कोष रहेका छन ।

कोषले कुन कुन क्षेत्रमा लगानी गरेको छ ?
दिगो लगानी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा आफ्नो स्रोत परिचालनमा कोषले उच्च प्राथमिकता दिनुपर्छ । मुलुकमा आर्थिक विकासमा परिवर्तन ल्याई आर्थिक बृद्धिदर बढाउने, रोजगारीको अवसर सिजर्ना गर्ने, उद्योग धन्दाको विकास गर्ने अपेक्षालाई कोषले गम्भिरतापुर्वक लिएको छ ।
कोषले सरल कर्जा, सहभागी सापटी तथा आवास कर्जा, शैक्षिक कर्जा लगायतका समयकालीन कर्जा प्रबाह गर्ने तर्फ पनि काम गरिराखेको छ । यस बाहेक नेपाल सरकारको ऋणपत्र, संगठीत संस्थाको शेयर लगायतमा लगानी गरेको छ । लगानीको दायरालाई अझ फराकिलो बनाउन कोषले भविश्यमा सरकारका ठूला विकास आयोजना तथा पुर्वाधारको क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

राष्ट्र सेवक वचतकर्ताको मेहनेतबाट जम्मा भएको रकमको सही सदुपयोग होस भन्ने कोषको मुख्य उदेश्य भएकाले त्यस अनुसार मात्रै कोषले काम गरिरहेको छ । कोषले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा १ खर्ब १० अर्ब ८९ करोड रुपैया लगानी गरेको छ । सो रकम मध्ये करिव ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेको छ । बैंक तथा वित्तीय संस्थामा लगानी गरेको मुद्दती निक्षेपको अंशलाई उत्पादनमुलक क्षेत्रमा सुरक्षित तवरले प्रवाह गर्नु कोषको लागि चुनौतीपुर्ण कार्य रहेको छ ।

सरकारले सामाजिक सुरक्षण कोष संचालनमा ल्याइसकेको छ ? तपाईहरुले कसरी काम गर्नुहुन्छ ?
कोष पनि सरकारले नै स्थापना गरेको संस्था हो । सरकारले आत्मसात गरेको समृद्व नेपाल, सुखी नेपालीको अवधारणलाई आत्मसात गरिरहेको छ। सरकारले ल्याएको नयाँ कार्यक्रमसंगै कोष पनि अघि बढ्दै जाने हो । यस प्रकारका सुरक्षण कोष सम्बन्धी अवधारणले कोषको कारोवारलाई विस्तार गर्न अझ बढी अनुकुल हुन्छ । यस्ता कार्यक्रमहरुले आम जनमानसमा एक प्रकारको उत्साह पैदा गर्छ भने सुरक्षण कोषमा स्वत स्फुर्त रुपमा बढी भन्दा बढी समावेश हुनेको संख्या क्रमशः बृद्धि हुदै जान्छ । त्यसरी नै श्रमिकलाई मध्य नजर गरी आएको सुरक्षण कोषले अब देशका किसान, स्वरोजगारमा रहेका व्यक्तिहरु, वैदेशिक रोजगारमा गएका युवाहरुको लागि पनि यस्ता कोष संगको आवद्धता आवश्यक रहने हुँदा नागरिक लगानी कोषको दायरा फराकिलो बनाउन अझ मद्दत पुग्छ । यसप्रकार दायरा फराकिलो हुँदा संकलित स्रोतको रकम विशाल हुने र यस्ता कोषहरुले एक अर्काको सहकार्यमा ठुलाठुला परियोजनामा लगानी गर्ने वातावरण सृजना भई देश विकासमा समेत सहयोग पु¥याउन सक्ने अवस्था आउँछ ।

मुलुकको आर्थिक प्रगतिका लागि लगानी कोषले के कस्ता योजना अगाडी सार्दै छ ?
आर्थिक प्रगति, समग्र राष्ट्रको आर्थिक विकास, उत्थान र प्रगतिको कुरा गर्दा समग्र नेपाली जनताको सुख र समृद्धिको चाहाना पुरा गर्नका लागि आम नागरिकसम्म कोष पुग्नुपर्छ । सरकारले लागु गरेको प्रादेशिक संरचना अनुसार सातै प्रदेशमा कोषले सेवा विस्तार गर्ने रणनीति लिएको छ । अहिले केन्द्रीय कार्यालय र शाखा कार्यालय पोखारा र बिराटनगरबाट सेवा दिदै आएकोमा निकट भविश्यमा सबै प्रदेशमा कोष पुग्ने निश्चित छ ।

विगत बर्षहरुको लेखा परीक्षण नै बाँकी रहेको कोषको हाल लेखापरीक्षणको बिषय के हुँदैछ ?
विगत बर्षहरुमा लेखापरीक्षण गर्न नसक्नुमा कोषको कमजोरी थियो । त्यो अवस्थालाई पार गर्न आर्थिक बर्ष २०७३÷७४ को लेखापरीक्षण सम्पन्न भई यही पुस ६ गते वार्षिक साधारण सभा हुँदैछ । यो कोषको २३ औं साधारणसभा हो । यस्ले कोषका सेयरधनी र आम लगानीकर्ताले समयमै साधारण सभा हुन नसकेको चिन्ता गरिरहने अवस्था हटाउने तर्फ सहयोग पु¥याउने छ भन्ने मैले अपेक्षा गरेको छु । साथै आर्थिक वर्ष २०७४÷७५ को लेखापरिक्षण कार्य पनि करीव करीव अन्तिमचरणमा रहेकोले लेखापरिक्षण कार्य सम्पन्न गरी यसै आर्थिक बर्ष भित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने योजना रहेको छ ।

कोषले यो भन्दा अघि पनि स्टक डिलरको काम गर्ने भनेको थियो । त्यो के हुँदैछ ?
कोषले स्टक डिलरको काम गर्ने सम्बन्धमा नेपाल स्टक एक्सचेन्जको अनलाइन कारोबार शुरु भएपश्चात प्रक्रिया अघि बढाइने सोच रहेकोमा उक्त कार्य सुरु भएकोले छिट्टै नै यस सम्वन्धमा प्रक्रिया शुरु गर्ने कार्य योजना छ । यस सम्वन्धी कार्य गर्न कोषले छुट्टै सहायक कम्पनी खोल्नुपर्ने हुँदा केही कानुनी प्रक्रियाहरु बाँकी रहेकोले यसलाई छिट्टै नै सम्पन्न गरी अगाडि बढाइने छ ।

पुँजी बजारको क्षेत्रमा कोषले के गर्दैछ ?
पुँजीबजारको विकास र विस्तारका लागि कोषले महत्वपूर्ण योगदान पु¥याउनुपर्ने देखिएको छ । पुँजी बजारलाई विश्वासिलो र दिगो बनाउन कोषले महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने मलाई लागेको छ । पूजी बजार सम्वन्धी काममा अहिले प्रतिस्पर्धा बढेको छ । बजारको विकास विस्तारले सवै प्रतिस्पर्धी संस्थाहरुको कारोबारमा अझ बढी प्रभावकारिता वृद्धि भई स्वच्छ, स्वस्थ र पारदर्शी पुँजी बजारको विकास मार्फत लगानीका सम्भावनाहरु बृद्धि हुने म देख्छु ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस