सुरु हुँदै इपिएलको तेस्रो संस्करण, कुन टिमको अवस्था कस्तो ?

काठमाडौँ । घरेलु क्रिकेटको ट्वेन्टी-ट्वेन्टी संस्करणमा प्रतिष्ठित प्रतिस्पर्धा एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ शहरको नामबाट ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । शनिबार पहिलो खेल अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्सबिच हुनेछ ।

विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ । पन्ध्र दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिताको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर लिडर्स’ छन् । यसपटक प्रतियोगितामा आठ देशका १९ विदेशी खेलाडी खेल्दैछन् ।

राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा प्रत्येक दिन दुई–दुई खेल हुनेछन् । मङ्सिर २३ गते ललितपुर प्याट्रियर्स र चितवन टाइगर्स तथा दोस्रो खेल भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबिच तथा मङ्सिर २४ गते चितवन र काठमाडौँ तथा पोखरा र ललितपुरबिच खेल हुनेछ । मङ्सिर २५ गते विराटनगर र पोखरा तथा चितवन र भैरहवाबिच खेल हुने आयोजकले जनाएको छ ।

यस्तै मङ्सिर २६ गते भैरहवा र विराटनगर तथा काठमाडौँ र ललितपुरबिच, मङ्सिर २८ गते विराटनगर र चितवन तथा पोखरा र काठमाडौँबिच खेल हुनेछ । मङ्सिर २९ गते भैरहवा र काठमाडौँ तथा चितवन र पोखराबिच, पुस १ गते ललितपुर र भैरहवाबिच तथा पुस २ गते भैरहवा र काठमाडौँबिच लिग चरणको अन्तिम खेल हुनेछ ।

प्रतियोगितालाई आइसिसीले मान्यता दिइसकेको छ । दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ५० र अन्यलाई १०० रुपैयाँ शुल्क लाग्नेछ ।

खेल्ने टिमहरु

पोखरा राइनोज

यो टिममा राम्रा विदेशी खेलाडी छन् । गएको वर्ष विदेशी खेलाडीले अपेक्षा अनुरुप प्रदर्शन नगरे पनि यो वर्ष भने राम्रो हुने आश पोखराको छ । कायल कोएट्जरको कप्तानीमा रहेको टिममा शक्ति गौचनसहितका खेलाडी छन् । गएको वर्ष चौथो भएको टिममा यो वर्ष नन्दन यादव, सुवेन्दु पाण्डेसहितका खेलाडी भित्रिएका छन् । टिम नाथन डोडको प्रशिक्षणमा खेल्नेछ ।

विराटनगर वारियर्स

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सलाई उपाधिको दाबेदार मानिएको छ । गएको सिजनको विजेता भएकाले पनि यो टिममाथि आश गर्नेहरु धेरै छन् । उमेश पटवालको प्रशिक्षणमा रहेको टिममा चार विदेशी खेलाडी छन् ।

ललितपुर प्याट्रियट्स

एको वर्ष तेस्रो भएको ललितपुर राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्दैछ । तीन भारतीय खेलाडीसहितको ललिपुरको प्रशिक्षक राजु बस्न्यात छन् ।

चितवन टाइगर्स

पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले गएको वर्ष राम्रो गर्न सकेको थिएन । चितवन गएको वर्ष प्रतियोगिताको पुछारमा रहेको थियो । तर यो वर्ष प्रदर्शन सुधार गर्ने लक्ष्य टिमको छ । कलाम अलीको प्रशिक्षणमा रहेको टिममा दीपेन्द्रसिंह ऐरीसहितका खेलाडी छन् ।

भैरहवा ग्लाडियटर्स

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा गएको वर्षको उपविजेता हो । यो वर्ष विजेता बन्ने लक्ष्यका साथ भैरहवाले तयारी गरेको छ । जंगबहादुर थापाको प्रशिक्षणमा रहेको टिममा शरदसहित मोहम्मद नाविद, रायट टेन डेस्काथेसहितका खेलाडी छन् ।

काठमाडौँ किंग्स ११

युवा खेलाडी सोमपाल कामीको कप्तानीको टिममा आश गर्नेहरु पनि धेरै छन् । गएको वर्ष पाँचौँ भएको टिम काठमाडौँले यो वर्ष प्रदर्शन सुधार गर्ने लक्ष्यका साथ तयारी गरेको छ । विनोद दासको प्रशिक्षणमा रहेको टिममा केभिन ओ’ब्राइनसहितका खेलाडी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस