नेविसंघको म्याद दुई महीना थपियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान स्वीकृत गरेसँगै संघको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संघको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेविसंघको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो । विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।

नेविसंघको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने व्यवस्था थियो । कांग्रेस बैठकले तीन महीना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महीना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताए । विधान स्वीकृतसँगै स्वतःविघटनको सङ्घारमा पुगेको नेविसंघको कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयावधि प्राप्त भएको छ । विसं २०२७ मा गठन भएको नेविसंघ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले स्वतन्त्रता सेनानी सोनेलाल पासवान (धनुषा), मणिसुन्दर वजियम (खोटाङ), भीमराज नौलाखा (मोरङ), काङ्ग्रेसका योद्धा तेजप्रसाद उप्रेती (धादिङ), कर्णबहादुर राना (गुल्मी) र धनबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, डा चन्द्र भण्डारी, शङ्कर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस