ओलम्पिकमा छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपालको अघिल्लो यात्रा कति सहज?

काठमाडाैं । नेपाली महिला राष्ट्रिय टोली आगामी सन् २०२० मा जापानमा हुने महिला ओलम्पिक फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । ओलम्पिक छनोटमा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूहमा अपराजित रहँदै उत्कृष्ट तेस्रो हुँदै छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो ।

नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १-१ गोलको बराबरी खेल्दै आफूलाई दोस्रो चरण प्रवेशको मुख्य दाबेदार बनायो । समूहको तेस्रो स्थानमा रहनुको बाबजुद पनि नेपाली टोली उत्कृष्ट दुई तेस्रो टोलीमा अटाउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपाल सम्मिलित समूह सी बाट म्यानमार समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको छ ।

पहिलो खेलमा बंगलादेशलाई ५-० ले पराजित गरेको आयोजक म्यानमारले दोस्रो खेलमा नेपालसँग १-१ को बराबरी खेल्यो । अन्तिम खेलमा मंगलबार भारतलाई २-१ ले हराउँदै म्यानमार अपराजित रहँदै ३ खेलमा ७ अंकसहित समूह विजेताका रूपमा दोस्रो चरणमा प्रवेश गरेको हो । समूहमा उपविजेताका रूपमा दोस्रो चरण प्रवेश गरेको भारतले नेपालसँग १-१ को बराबरी खेल्दा दोस्रो खेलमा बंगलादेशलाई ७-० ले पराजित गर्दै ३ खेलमा ४ अंकसहित दोस्रो स्थान हासिल गर्‍यो ।

तीनै खेलमा अपराजित रहेको नेपाल ३ अंक जोड्दै तेस्रो भयो भने बंगलादेश १ अंकसाथ चौथो भएर प्रतियोगिताबाट बाहिरियो । छनोट प्रतियोगिताको ८ समूहबाट प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट २ तेस्रो स्थानको टोलीसहित १० टोली दोस्रो चरणमा प्रवेश गरेका छन् । समूह ए बाट चाइनिज ताइपेइ र फिलिपिन्स, समूह बी बाट इरान र हङकङ दोस्रो चरणमा पुगे । यस्तै समूह डी बाट जोर्डन र इन्डोनेसिया दोस्रो चरणमा पुगेका छन् । यही समूहबाट प्यालेस्टाइन उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

उज्बेकिस्तान र भिएतनामसहित छनोट भएका यी १० टोलीले सन् २०१९ अप्रिलमा दोस्रो चरणको छनोट प्रतियोगिता खेल्नेछन् । उक्त प्रतियोगिता तीन समूहमा विभाजन भएको खेलाइनेछ। प्रत्येक समूहको शीर्ष टोलीले छनोटको तेस्रो चरणमा स्थान बनाउनेछन् । छनोटको तेस्रो चरणमा यी तीन राष्ट्रले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाईल्यान्डसँग खेल्नेछन् । यो प्रतियोगिताबाट शीर्ष दुई टोली आगामी सन् २०२० टोकियो ओलम्पिकमा छनोट हुनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस