बिरामीको अनुहारमा खुसी देख्न पाउँदा आनन्द लाग्छ

                                                                   डा. प्रज्वल श्रेष्ठ, छाती रोग विशेषज्ञ

स्वास्थ्य नै धन हो । शारीरिक तथा मानसिकरुपमा स्वस्थ मानिसको व्यक्तिगत तथा पेशागत जीवनशैली अन्यको तुलनामा सकारात्मक हुन्छ । सकारात्मक जीवनशैली नै मानिसको सम्पूर्ण विकासको मुलआधार हो ।तथापि, अव्यवस्थित जीवनशैली, खानपान, वातावरणीय प्रदुषण आदिले मानिसको स्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ भने फलतः मानिसहरु विभिन्न रोगको शिकार बनिरहेका छन् ।

विशेषगरी स्वास्थ्य तथा शिक्षाको कमी र वातावरणीय प्रदुषणको असरले आजभोली धेरैजसोमा छाती सम्बन्धी विभिन्न रोगहरु जस्तैः फोक्सोको क्यान्सर, दम, निमोनिया, टिबी, छातीको एलर्जी, श्वासप्रश्वास सम्बन्धि दीर्घकालीन रोगहरु देखा परिरहेका छन । छाती सम्बन्धी विभिन्न रोगहरुले पारेको असर र यसको निदानका उपायहरु बारे छाती रोग विशेषज्ञ डा.प्रज्वल श्रेष्ठसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानीको सम्पादित अंशः

पेशाले तपाई छाती रोग विशेषज्ञ हुनुहुन्छ, डाक्टर पेशाबाट कत्तिको खुसी हुनुहुन्छ ?

सुरुमा मेरो डाक्टर भन्दापनि चाटर्ड एकाउन्टेन्ट बन्ने इच्छा थियो । प्लस टुको अध्ययन सकेपछि नेपाल सरकारबाट एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाएँ । एमबीबीएसको अध्ययन सकेपछि मेडिसिनमा एमडी गर्ने सोच आयो । त्यसैगरी नयाँदिल्लीको एम्समा एम.डीको लागि मैले अवसर पाएँ । त्यसैक्रममा छाती रोग सम्बन्धि विशेषज्ञता हाँसिल गर्न मन लाग्यो । नेपालमा छाती सम्बन्धी बिरामीहरुको चाप बढी भएकोले यसैमा अगाडि बढ्न प्रेरित भएँ । साधारण तथा जटिल प्रकारका छातीसम्बन्धि रोग भएका बिरामीहरुको केसलाई हेरेर त्यस अनुसार रोगको पहिचान र उपचार गरेर बिरामीको अनुहारमा खुसी देख्न पाउँदा वास्तवमै डाक्टरी पेशाबाट खुसी छु ।

छाती सम्बन्धी विभिन्न जटिल रोगहरुबाट ग्रसित बिरामीहरुको उपचार गर्दा कस्तो महशुस हुन्छ ?
हामीकहाँ साधारण र जटिल प्रकृतिका छाती सम्बन्धी रोग लिएर उपचार गर्न बिरामीहरु आईरहनुभएको छ । सामान्य समस्या लिएर आउनुभएका विरामीहरुलाई उपचार गरी फलोअप गर्दा राम्रै प्रतिक्रिया पाइरहेका छौं । यद्यपि लामो समयदेखि रोगको सही पहिचान र उपचार नपाएर छटपटाईरहेका जटिल बिरामीहरुलाई उपचार गर्न पनि सफल भईरहेका छौं । जसले स्वयं हामीलाई अझ प्रभावकारी कार्य सम्पादन गर्न थप हौसला र प्रेरणा प्राप्त भैरहेको छ ।

नेपालमा छाती सम्बन्धी रोगहरुको उपचार प्रविधि महंगो छ भनिन्छ, यस बारेमा वताईदिनुहोस् न ?

छाती सम्बन्धी रोगहरु विभिन्न किसिमका हुने गर्छन्, जस्तै साधारणदेखि जटिल प्रकृतिका रोगहरु हुने भएकोले यसको उचित पहिचान गरेर उपचार सुरु गर्नु आफैंमा महंगो हुन जान्छ । त्यसकारण रोगको प्रकृतिअनुसार एक्स रे, फोक्सोको जाँच, सिटी स्क्यान जस्तो प्रविधि प्रयोग गरेर पहिचान गर्नुपर्ने हुन्छ । अतिनै जटिल रोगहरु मुटु सम्बन्धि र क्यान्सर भन्दाचाहिं सस्तो नै हुन्छ ।

छाती सम्बन्धी रोग लागे के कस्ता लक्षणहरु देखा पर्दछन् ?

छाती तथा फोक्सो सम्बन्धी रोगहरुमा विभिन्न लक्षणहरु देखा पर्ने गर्दछन् । विशेषगरी असामान्य रुपमा खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने र खकारमा रगत देखिने गर्दछ ।

सामान्यतया रातीको समयमा मानिसहरु घुर्ने गर्छन्, यो समस्या हो वा होईन ?

घुर्नेे पनि एक प्रकारको रोग नै हो । निन्द्रामा घुर्ने समस्या भएका विरामीहरुमा चाहिं दिउसो घुर्ने र निन्द्रा लाग्ने हुन्छ । यसबाट रातीमा निन्द्रा पुग्दैन । चिटचिटाह, छटपटी, स्मरण शक्ति कम हुँदै जाने र परिणाम स्वरुप मस्तिष्कघात, ब्लडप्रेसर, सुगर, हृदयघातजस्ता समस्याहरु देखा पर्दछन् । त्यसकारण घुर्ने पनि एकप्रकारको विरामी नै भएकाले चिकित्सकसँग यसको जाँच गराउनुपर्छ ।

छाती सम्बन्धी रोगहरुको निदान कसरी गर्ने वा यसबाट बच्न के के उपाय अपनाउन सकिन्छ ?

छाती सम्बन्धि विभिन्न प्रकृतिका रोगहरुको उपचार गर्ने तरिका पनि भिन्न खाले छन् । साधारण प्रकृतिको रोगहरुमा छातीको एक्सरे, पल्मोनरी फङ्सन टेस्ट एँत् खकारको जाँच पर्दछन् । जाँचपश्चात् विरामीलाई आवश्यक औंषधीहरु प्रदान गरिन्छ भने जटिल प्रकृतिको रोगलाई विशेष प्रविधि र तरिका अपनाई निरन्तर फलोअप गर्ने गरिन्छ ।
साधारणतया दमका विरामीहरुलाई खाने औषधि भन्दा तान्ने औषधिहरु प्रयोग गर्ने सुझाव दिईन्छ । रोग लाग्न नदिनु नै बेस भएकोले यसबाट बच्न मुख्यरुपमा धुम्रपान, मद्यपान नगर्ने, वायु प्रदुषणबाट बच्न दाउराको बिकल्पमा सुधारिएको चुलोको प्रयोग गर्ने, डाक्टरको सल्लाह बमोजिम मास्कको प्रयोग गर्ने, आफु र आफ्नो वरपरको वातावरण स्वच्छ राख्नाले छाती तथा फोक्सो सम्बन्धि रोगबाट बच्न सकिन्छ ।

छातीका विभिन्न रोगको निदानका लागि नेपालमा पहिलोपटक भित्रिएको ‘इ–बस’ कस्तो प्रविधि हो ?

वीर अस्पतालले केहि समयदेखि छातीका विभिन्न रोगको निदानका लागि अत्याधुनिक प्रविधिसहितको एन्डोब्रोन्कियल अल्ट्रासाउन्ड (इ–बस) मेसिन प्रयोगमा ल्याएको छ । चिकित्सा इतिहासलाई नियाल्ने हो भने जर्मनीका चिकित्सक क्रस्निक र विल्मानले सन् २००३ मा पहिलो पटक इ–बस प्रयोगमा ल्याएका थिए । उता भारतमा यसको प्रयोग सन् २००९ देखि भएको थियो ।
इ–बसलाई साधारण भाषामा ब्रोङ्कोस्कोपीको विकसित प्रविधिका रूपमा बुझ्नुपर्छ । यसमा ब्रोङ्कोस्कोपीको अघिल्तिरको टुप्पोमा अल्ट्रासाउन्डको ‘प्रोव’ जडान गरिएको हुन्छ र सोही प्रोवको सहायताले छातीभित्रका विभिन्न ग्रन्थी सुन्निएको छ कि छैन भनेर प्रत्यक्ष रूपमा हेर्न र त्यसको ‘स्याम्पलिङ’ गर्न सकिन्छ ।
विभिन्न रोग (जस्तैः फोक्सोको क्यान्सर, क्षयरोग तथा सार्कोइडोसिस आदि) हुँदा छातीभित्रका ग्रन्थी सुन्निने गर्छ । यस्ता ग्रन्थीको स्याम्पलिङ गरी रोग पहिचान गर्न इ–बसकोे भूमिका रहन्छ । फोक्सोको क्यान्सरको सही पहिचान र चरण पत्ता लगाउन इ–बसको उपयोगिता ९५ देखि १ सय प्रतिशतसम्म रहेको विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ ।

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता कस्तो देख्नुहुन्छ ?

स्वास्थ्य क्षेत्र एक गम्भीर र प्रत्यक्षरुपमा मानिसको जीवनसँग सम्बन्धित भएकोले यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन स्वास्थ्य बीमा कार्यक्रमको निकै नै प्रभावकारिता देख्छु । जसबाट आर्थिक अवस्था कमजोर भएकाहरुले पनि उपचार गर्न पाउँछन् । यसका साथै विभिन्न स्वास्थ्यमैत्री नीतिहरुको स्थापना तथा कार्यान्वयन हुनु आवश्यक छ ।

छाती रोग सम्बन्धि विशेष सेवाका लागि तपाईलाई कहाँ र कुन समयमा सम्पर्क राख्न सकिन्छ ?

अहिले म वीर अस्पतालमा बिहान ९ः३० वजेदेखि बेलुका ४ः३० सम्म काम गर्दै आइरहेको छु । ग्राण्डी अस्पतालमा दिउँसो ४ः४५ देखि बेलुका ७ बजेसम्म तथा एपोलो पोलिक्लिनिक मैतिदेवीमा बिहान ८ बजेदेखि ९ः३० सम्म सम्पर्क राख्न सक्नुहुन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस