मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

काठमाडाैं । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि रु एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर निष्काशन गर्न लागेको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले जानकारी दिएको छ । साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरिसकेको छ ।

कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम् एक हजार २०० कित्तासम्मको शेयरमा आवेदन दिन सक्नेछन् । दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख छ । आयोजनामा गत असोज मसान्तसम्म ब्याजबाहेक पाँच अर्ब ९१ करोड ६४ लाख खर्च भई कूल वित्तीय प्रगतिभार ३९.९० प्रतिशत रहेको छ । विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणले निर्माण प्रभावित हुँदा आयोजनाको लागत बढ्न जाने देखिएको आयोजनाले जनाएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड र जारी पूँजी छ अर्ब रहेको छ । निर्माणाधीन आयोजनाको शुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइनेछ । सो आयोजनाको ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भइसकेको छ । संस्थापक समूहबाट कबोल भएको तीन अर्ब छ करोडको शेयर रकम चुक्ता भइसकेको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयरअन्तर्गत नेपाल विद्युत् प्राधिकरण १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड ३७, सिन्धुपाल्चोक हाइड्रोपावर एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी एक, सिन्धु इन्भेष्टमेण्ट कम्पनी एक र सिन्धु भोटेकोशी हाइड्रोपावरको एक प्रतिशत रहेको छ । सर्वसाधारण शेयरधनी समूहको ४९ प्रतिशत शेयरअन्तर्गत कर्मचारी सञ्चय कोषका कर्मचारी १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारी ३.५, ऋणदाता संस्थाका कर्मचारी एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशतका शेयर छुट्याइएको छ ।

सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आइएमइ क्यापिल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लिमिटेड, एनआइबिएलएस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल तथा सिबिआएल क्यापिटल लिमिटेड सह–निष्काशन एवम बिक्री प्रबन्धक छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस