‘वाणिज्य बैंक सरहको सुविधा विकास बैंकले पनि पाउनुपर्छ‘

महेशप्रसाद काफ्ले, प्रमुख कार्यकारी अधिकृत (सिईओ), कामना सेवा विकास बैंक लि.

पाल्पाको माथागढी गाउँपालिका अन्तर्गत रुप्से गाउँमा ५२ वर्ष अगाडि जन्मिएका महेशप्रसाद काफ्ले बैकिङ्ग जगतमा चिरपरिचित नाम हो । विगत लामो समयदेखि बैंक तथा वित्तिय क्षेत्रमा काम गर्दै आएका काफ्ले हाल राष्ट्रियस्तरको कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । प्राध्यापन सेवाबाट आफ्नो करियरको सुरुवात गरेका काफ्लेले विशेष गरी ग्रामीण बैकिङ्गको अवधारणा विकास गर्न महत्वूपर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।

कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षमा २२ वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । बैंकले एक वर्षभित्रको समयावधिमा काठमाडौं उपत्यकाभित्र ६ वटा, प्रदेश नं. १ मा ७ वटा, प्रदेश नं. २ मा ७ वटा, प्रदेश नं. ४ मा १ र प्रदेश नं. ५ मा १ गरी कुल २२ वटा शाखा विस्तार गर्न लागेको प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले बताउँछन् । उपत्यका भित्र खोलिने शाखाहरुमा न्यूरोड, कलंकी र गोंगवुको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको तथा नयाँबानेश्वर, वल्खु र चाबहिलको लागि स्वीकृति लिने प्रक्रियामा रहेको पनि प्रमुख कार्यकारी अधिकृत काफ्लेले जानकारी दिए ।

अहिले ५९ वटा शाखा कार्यालय मार्फत देशका ग्रामीण इलाकादेखि शहरसम्म बैंकिङ कारोबार गरिरहेको कामना सेवाले १४ वटा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । हाल सञ्चालित शाखाहरुमध्ये, प्रदेश नं. २ मा १ वटा, प्रदेश नं. ३ मा ९ वटा, प्रदेश नं. ४ मा २० वटा, प्रदेश नं. ५ मा २४ वटा, प्रदेश नं. ६ मा १ वटा र प्रदेश नंं. ७ मा ३ वटा शाखा सञ्चालनमा रहेका छन ।
गत असार मसान्तसम्ममा बैंकको कुल ग्राहक संख्या ३ लाख ५० हजार भन्दा बढी रहेको छ भने कर्मचारीको संख्या करीब ४५० जना रहेको छ ।

प्रधान कार्यालयमा समेत गरी १७ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको बैंकका एटीएम प्रयोगकर्ता ग्राहकको संख्या १६ हजारभन्दा माथि रहेको छ । यसका साथै मोबाइल र एसएमएस बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ५० हजार भन्दा माथि रहेको छ ।

गत असार मसान्तसम्ममा १५ अर्ब ७५ करोड निक्षेप संकलन गरेको बैंकले सोही अबधिमा १३ अर्ब ४४ करोड कर्जा लगानी गरेको थियो । लगानी गरेको कर्जामध्ये उत्पादनमुलक क्षेत्रको हिस्सा २३ प्रतिशत रहेको छ तथा विपन्न बर्गमा मात्र बैंकले ६० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । उक्त अवधिसम्ममा कामना सेवा विकास बैंकको खराब कर्जा ०.६९ प्रतिशत मात्र रहेको छ । बैंकको स्प्रेट रेट ५.२२ प्रतिशत तथा बेस रेट १२.५८ प्रतिशत छ । त्यस्तै बैंकको कर्जा निक्षेप अनुपात ७०.०५ प्रतिशत रहेको छ ।

बैंकिङ्ग क्षेत्रका सुपरिचित, समाजसेवी तथा बैंक तथा वित्तिय क्षेत्रमा तथा समग्र आर्थिक क्षेत्रमा अतुलनीय योगदान पुर्याए वापत २ पटक लगातार फोकस नेपालद्धारा प्रदान गरिएको राष्ट्रिय पुरस्कारवाट सम्मानित काफ्ले मर्जर मार्फत बैंकलाई थप उचाईमा पु¥याउने अभियानमा लाग्दै बैंकर्सहरुको माँझमा आफ्नो छुट्टै पहिचान बनाएका छन । उनै कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानीको सम्पादित अंशः

बैकिङ्ग क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?

नेपाल सरकारको पाँचवटै विकास क्षेत्रमा ग्रामीण विकास बैंक स्थापना गर्ने योजना अनुरुप पश्चिमाञ्चल ग्रामीण विकास बैंकबाट मेरो बैकिङ्ग यात्रा सुरु भएको हो । बुटबलमा केन्द्रिय कार्यालय स्थापनाको एक महिनामै सो बैंकमा अधिकृत पदमा प्रवेश गरें । गरिबी निवारणको उद्देश्यसहित स्थापना भएको ग्रामीण विकास बैंकले विशेषत विपन्न वर्गका महिलाहरुको आर्थिक उन्नतिका लागि काम गर्दै आएको थियो । सोही बैंकको कपिलवस्तु शाखामा रहेर शाखा प्रबन्धकको रुपमा काम गरे ।

बैकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले कुन पेशामा संलग्न हुनुहुन्थ्यो ?

प्राध्यापन पेशामा नामुद, ३७ वर्षसम्म प्राध्यापन गर्नु भएका मेरा बुवाको रुचि छोरो पनि यसै क्षेत्रमा काम गरोस् भन्ने थियो । यसै क्रममा त्रिभुवन क्याम्पस पाल्पामा मास्टर्स गर्ने क्रममा मोहन कन्या माविबाट शिक्षण पेशामा संलग्न भए । त्यसपछि २०४९ सालमा काठमाडौं प्रवेशसँगै कोटेश्वर बहुमुखी क्याम्पसबाट ६ महिनाको प्राध्यापनपछि पश्चिम नेपालको अछाममा सञ्चालित कमर्श क्याम्पसमा प्रार्चायको रुपमा काम गरें ।

शिक्षण अथवा बैकिङ्ग पेशा कुनमा बढि रमाउनुभयो ?

शिक्षण पेशा आफैंमा मर्यादित र सम्मानजनक पेशा हो । जुन समयमा मैले प्राध्यापन गरे त्यो बेला विद्यार्थीहरु निक्कै अनुशासित र शिक्षण सिकाईमा पनि क्रियाशील भएर सहभागी हुन्थे । बँदलिदो समय र परिस्थितिसगैं शिक्षण प्रक्रियामा आएको परिवर्तनले केही विकृतिपनि मौलाएको छ ।
पश्चिमाञ्चल ग्रामीण विकास बैंकसँगै पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त भैरहवाको बृहस्पति क्याम्पसमा आंशिकरुपमा शिक्षण पेशालाई पनि केही समय निरन्तरता दिएँ । अध्यापन गराउँदापनि म निकै खुसी थिएँ भने हाल बैंकको जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गर्दै जाँदा खुसी र आनन्द दुबै प्राप्त भएको छ । हुन त म हरेक पेशामा रमाउने भएको भएर पनि होला म दुवै पेशामा उत्तिकै रमाएँ र दुवै पेशामा इमान्दार र लगनशिल भई कार्य गरेकोमा उचित सम्मान प्राप्त गर्न सफल पनि भएँ ।

बैकिङ्ग क्षेत्रमा तपाईको लामो अनुभव छ, योबाहेक अरु कुन पेशामा आबद्ध हुनुहुन्छ ?

समय अभावका कारण २०६४ भदौ २ गतेदेखि शिक्षण पेशा पूर्णरुपमा छोडेको छु । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाईसकेपछि बैकिङ्ग क्षेत्रमा अझ क्रियाशील भएर लागिरहेको छु । ग्रामीण विकास बैंक पश्चात पश्चिमाञ्चल फाइनान्स कम्पनीमा चार वर्ष अधिकृतको रुपमा काम गरें । एक वर्ष म्याग्दी बेनीमा शाखा प्रवन्धककोे रुपमा काम गरी सिद्धार्थ फाइनान्स भैरहवामा पनि चिफ क्रेडिट अफिसरको रुपमा काम गरेको अनुभव रहेको छ ।
यसका अलावा लुम्बिनी सामुदायिक टेलिभिजन, रुपन्देही एफएम र बुटबलका विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध हुनुका साथै सञ्चार क्षेत्रको पनि आंशिक अनुभव बटुलेको छु ।

कामना सेवा विकास बैंकको जन्म कसरी भयो ?

सिद्धार्थ फाइनान्स भैरहवामा काम गर्ने क्रममा साथीहरुको सल्लाह सहयोग अनुरुप सेवा विकास बैंकको दर्ता प्रक्रिया अगाडी बढ्यो । २०६३ फागुन १३ बाट यस बैंकको औपचारिक रुपमा सुरुवात गरिएतापनि २०६४ भदौ २ बाट प्रमुख कार्यकारी अधिकृतको रुपमा एक दशक उक्त बैंकमा बिताएपछि सेवा र कामना दुई भिन्न बैंकहरु मर्जरपछि कामना सेवा विकास बैंकको जन्म भएको हो ।

मर्जर पछिको कामना सेवा विकास बैंकको आर्थिक प्रगतिको बारेमा वताईदिनुस न ?
बैंकको अधिकृत पूंजी ३ अर्ब जारी तथा चूक्ता पूंजी २ अर्ब ५० करोड २६ लाख रहेको छ भने बैंकको हालसम्मको निक्षेप १६ अर्ब ५० करोड छ भने कर्जा लगानी १३ अर्ब ५० करोड रहेको छ । यसैगरी बैंकले गत असार मसान्तसम्ममा ५३ करोड ९६ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।
खराब कर्जालाई गतवर्षमा २ दशमलव १३ प्रतिशतबाट शुन्य दशमलव ६९ प्रतिशतमा झार्न बैंक सफल भएको छ । मर्जर हुँदा ४० शाखा कार्यालय रहेकोमा मर्जर गर्दाकै वर्ष १९ शाखा थप गरी ५९ शाखाबाट सेवा प्रवाह गर्दै आइरहेका छौ भने चालु आर्थिक वर्षमा थप २२ शाखा विस्तार गर्दै देशब्यापी नेटवर्क बनाउदै अघि बढ्ने योजना रहेको छ ।

ग्राहकहरुको रोजाईमा कामना सेवा विकास बैंक नै किन ?

ग्राहक मैत्री ब्यवहार प्रदान गरि ग्राहकका आवश्यकतालाई सहजताका साथ पहिचान गर्न सक्नुनै अन्य बैंंकको तुलनामा हाम्रो बैंकको फरक परिचय हो । समाजका हरेक वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरीे तथा स्थानीय आवश्यकतालाई वोध गरि अधिक प्रतिफलयुक्त विविध निक्षेपहरु तथा सहज र सरलरुपमा कर्जा प्रवाह गरिरहेका छौ । हामीले कर्जालाई सरल र सुलभ मात्रै बनाएका छैनौ की समाजमा पिछडिएर वसेका तथा काम गर्ने जोश जाँगर र सीप भएका तर धितो नभएका अति विपन्न तथा महिलावर्गहरुलाई विना धितो कर्जा प्रवाह गरिरहेका छौ ।
वास्तबमा भन्नुपर्दा हामीहरु अत्यन्तै ग्राहक मैत्री रहेका छौं र सोही अनुसारको परिचय पनि ग्राहकमाझ बनाएका छौं । हामीसँग कार्य गर्ने कर्मचारीहरुको ग्राहकसँग गर्ने ब्यवहारनै हाम्रो सवल पक्ष हो र त्यसैले हामी ग्राहकको रोजाईमा पर्दछौं ।

उत्पादनशिल क्षेत्रमा कामना सेवा विकास बैंकको उपस्थिति कस्तो छ ?

नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार तोकिएका उत्पादनशील क्षेत्रहरुमा बैंकले लगानी गरिरहेको छ । नियमनकारी निकायले तोके बमोजिम हामीहरुले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्दै आइरहेका छौं यसका अलावा पनि यदि प्रोजेक्ट उत्पादनमुलक हो भने हामीले सोही अुनसार विभिन्न किसिमका छुट तथा थप सुविधाहरु समेत प्रदान गर्ने गर्दछौं ।
विशेषतस् आर्थिक शोषणबाट जनतालाई मुक्ति दिलाउदै उत्पादन मुलुक उद्योगधन्दा एवं ब्यापारको विकास गर्दै देशको अर्थतन्त्रमा समेत विशेष योगदान पु(याउने क्षेत्रमा साथै कृषि परियोजनाहरु, पशुपालन सम्वन्धी ब्यवसायहरु, उत्पादनमुलक साना तथा मझौला उद्योग धन्दा तथा साना जलविद्युत आयोजनाहरुमा लगानी गर्दै रिटेल लगानीका क्षेत्रहरुमा समेत कर्जा प्रवाह गर्दै आइरहेको अवस्था छ ।
देशको गरिवी निवारणमा बैंकको समेत योग्दान रहनुपर्छ भन्ने हेतुले गरिब तथा पिछडिएका वर्गको उत्थानका लागि विना धितोमा लघुवित्त कर्जा अधिकांश शाखा कार्यालयहरुबाट प्रदान गर्दै आइरहेका छौं साथै यसलाई थप विस्तार गर्ने योजना समेत रहेको छ ।

अहिलेको समयमा विकास बैंकले भोगिरहनु परेका चुनौतीहरु के के छन् ?

कामना सेवा विकास बैंकले सुरुवातको वर्षदेखि नै थुप्रै चनौतीहरुको सामना गर्नु परिरहेको अवस्था छ । विशेष गरी नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति नियमहरु विकास बैंक फ्रेन्डली बन्न सकिरहेका छैनन् ।
विभिन्न हिसाबले राष्ट्र बैंकले विकास बैंकमाथि छुट्टै व्यवहार गर्ने गरेको छ । सुरुवातमा लगानी गरिएका परियोजनाहरु सफल र सवल भइसके पश्चात ’क’ वर्गको बैंकबाट तानिनु, विकास बैंकले जारी गरेको जमानतपत्र सरकारी निकायहरुमा स्वीकार नगर्नु साथै सबै किसिमका गैरकोषमा आधारित कारोबार गर्न विकास बैंकलाई नदिईनु आदि चुनौतीहरु हाल विकास बैंकले भोगिरहेको अवस्था छ ।

बैंकले सेवा तथा सुविधा बिस्तारका लागि के कस्ता रणनीतिहरु तयार गर्दैछ ?
हामी केहि हदसम्म ग्राहकको मनमा एउटा वित्तिय सहयात्रीको रुपमा डेरा जमाइसकेको तथा आफ्नो ब्रान्ड कायम गरिसकेकोले अवस्था छ । बैंकलाई अझ प्रतिस्पर्धी,सक्षम र दरिलो पार्न यसै आर्थिक बर्षमा २२ नयाँ शाखा थप गर्ने योजनाअनुरुप बैंक अगाडी बढिरहेको छ ।
समयसापेक्ष सेवामा विविधिकरण गरी INTERNET BANKING लगायतका विभिन्न आधुनिक वित्तिय उपकरणहरु क्रमश बजारमा ल्याउने, छिटो छरितो तथा विश्वसनीय सेवा प्रदान गर्ने साथै ग्राहकहरुको अगाध र अटुट विश्वासलाई दिर्घजिवी बनाउन र बंैकको प्रतिष्ठालाई उचो राख्न यस बैंकले नयाँ नयाँ अधिक प्रतिफल दिने योजनाहरु बजारमा ल्याइरहने विश्वास दिलाउन चाहान्छु ।

अन्त्यमा के भन्नुहुन्छ ?
कामना सेवा विकास बैंक एक सवल, स्वस्थ, दरिलो र देशभर शाखा रहेको विश्वसनीय बैंकको रुपमा स्थापित भइसकेको छ । आजको दिनसम्म आउदा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक जुन विश्वास र मायाँ हामीहरुलाई दिनुभएको छ त्यसैको निरन्तरताको अपेक्षा गर्दै तपाई सम्पूर्णको सच्चा वित्तीय सहयात्री बनेर तपाईहरुको उन्नती प्रगतीमा सहयोग गर्ने बाचा गर्दै बैकिङ्ग सेवामा हामीहरुनै तपाईको प्रथम रोजाईमा पर्न सकियोस भन्दै सेवा गर्ने अठोट सहित आर्थिक तथा बैंकिङ्ग विकासमा न्यूज दैनिकले खेलेको भुमिकाको विशेष प्रशंसा समेत गर्न चाहान्छु । यहाँहरु सम्पूर्णको जीवनमा हाम्रो बैकिङ्ग सेवाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस भन्ने कामना गर्दै आउँदै गरेको शुभविजया दशमी, शुभ दिवापली र छठ पर्वको अवसरमा सम्पूर्ण कर्मचारी वर्ग, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु तथा सम्पूर्ण शुभेच्छुक वर्गमा सु स्वास्थ, दिर्घायु एवं आर्थिक उन्नती प्रगतीको शुभकामना ब्यक्त गर्न चाहन्छु ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस