गाेरखा दरबारकाे फूलपाती हनुमानढोकामा भित्र्याइयाे

काठमाडौं । गोरखा दरबारबाट ल्याइएको बडादशैंको फूलपाती काठमाडौंको हनुमानढोका दरबारको दसैँघरमा भित्र्याइएको छ । ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन बसेको हो ।

आज बिहानै गोरखा दरबारबाट बोकेर ल्याइएको फूलपाती सतीपिपलको फूलपाती चौताराबाट जिपमा राखेर काठमाडौं पठाइएको थियो ।

उखु, अदुवा, तथा केराको बोट, धानको वाला, वेलपत्र, दारिम, हलेदो, अशोकको पातसहित फलफूल र अन्य पालुवासमेतको फूलपातीलाई धादिङको जीवनपुरबाट बोकेर जमल ल्याइएको थियो ।

जमलबाट फूलपातीलाई डोलीमा राखेर गुरुजुको पल्टन, पञ्चेबाजा, मंगलसेनी, कलसेनी, हवलाको सामान (चन्द्र, सूर्य, घण्टा र चामर बोकेको टोली), ब्याण्डबाजा, समरजंगको टोली र नेपाली सेनाको पल्टनले हनुमान ढोकादरबार पुर्‍याएको थियो ।

मूलचोक पुगेपछि फूलपातीलाई कुभिन्डो र बोका बलिसहित पूजा गरिसकेपछि दशैंघरमा राखिएको थियो ।

त्यसअघि सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो ।

फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ । बढाइँ अघि राष्ट्रपति भण्डारीको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस