दशैको धार्मिक तथा साँस्कृतिक मान्यता

प्रा.डा.रामचन्द्र गौतम, अध्यक्ष, नेपाल पञ्चाङ्ग निर्णायक समिति

दशैं हिन्दुहरु मात्रको नभई सम्पुर्ण नेपालीहरुको महान् राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनाबाट विधिवतपुर्वक सुरु गरिएको दशैं देवी भगवतीको पुजा आराधना गरी दशै दिन अर्थात् विजयादशमीको दिन मान्यजनको हातबाट टीका तथा प्रसाद ग्रहण गरी हर्सोल्लासका साथ मनाउने गरिन्छ । दशैंकोे धार्मिक तथा सांस्कृतिक महत्व र यससँग जोडिएका विविध पक्षहरुलाई समेटेर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमसँग गरिएको कुराकानी

दशैको धार्मिक तथा साँस्कृतिक महत्वको बारेमा भनिदिनुहोस् न ?
दशैं अर्थात् नवरात्र कर्मलाई आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना वा कलश स्थापना गरेर देवी भगवतीको विशेष पूजा अर्चना गरी शक्ति, ऐश्वर्य र विद्या प्राप्तिको लागि दश दिनसम्म मनाइने भएकोले दशैं भनिएको हो । दशैंमा शक्तिको देवीकोरुपमा महाकाली, ऐश्वर्यकी देवी महालक्ष्मी र विद्याकी देवी महासरस्वतीको रुपमा देवीको विभिन्न रुपहरुको शक्ति, पीठ तथा मन्दिरहरुमा गई विशेष पुजा गरिन्छ । ठुलाबडा तथा मान्यजनको हातबाट टीका तथा आर्शीवाद ग्रहण गरिने र लामो समयदेखि भेट नभएका आफन्तहरुबीच साक्षात्कार हुने अवसर पनि दशैंले जुटाउने भएकोले दशैंको आफ्नै किसिमको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।

घटस्थापनादेखि विधिवत रुपमा सुरु गरिएको दशैंमा विजयादशमीको दिनसम्म देवीको कसरी पूजा अर्चना गरिन्छ ?
घटस्थापनाबाट विधिवतपुर्वक सुरु गरिएको दशैंको पहिलो दिन देवीको प्रिय पुष्प जौको जमरा राखी पुर्ण कलशसँगै देवीको स्थापना गरिन्छ । यसरी जमरा राख्ने प्रचलनलाई संस्कृतमा एवानपर भनिन्छ, जसको मानव स्वास्थ्यको लागि आफ्नै खालको महत्व छ । दशैंको पहिलो दिन शैलपुत्री, दोश्रो दिन ब्रम्हायणी र तेश्रो दिन चन्द्रघण्टा सँगै देवीका विभिन्न रुपहरु अष्टमातृका, ब्राम्ही, महेश्वरी, चामुण्डा, बाराही, कुमारी, इन्द्रायणी आदिको नौ दिनसम्म विशेष पुजा आराधना गरिन्छ । यसैगरी सप्तमी अर्थात् फूलपातीको दिन नौ वटै देवी समेतको धान, हलेदो, दारिम, केरा आदि विभिन्न बस्तु राखेर नवपत्रिका प्रवेश गरिन्छ भने महाअष्टमीको दिन देवीको मन्दिरमा सात्विक, राजस र तामस गरी तीन किसिमले पूजा गर्ने चलन छ ।

आधुनिक समाजमा पशुवलीलाई विकृतिको रुपमा हेर्ने गरिन्छ तथापि दशैंमा भने पशुवली दिईन्छ नी !

हाम्रो समाजमा विभिन्न सम्प्रदायहरु जस्तै श्री वैश्णव, कृष्णप्रणामी, नेम्वार्गी आदि विद्यमान छन् । यी मध्ये जो वैदिक धर्म अनुयायी छन् र गृहस्थाश्रममा सामान्यरुपले जीवन व्यतित गरिरहेका छन्, तिनीहरुले संस्कार र परम्परा अनुसार पशुवली दिने गर्दछन् भने अन्यले सात्विक वा पशुवली नदिई, नैवेद, अर्घ, फलपूmल, चन्दन आदि चढाई देवीको पूजा गर्ने चलन छ ।
शास्त्रमा उल्लेख गरिए अनुसार संसारमा विवेकशील अर्थात् मानिस र अविवेकशील अर्थात् पशु गरी दुई थरीका प्राणी अस्तित्वमा रहेका छन् । दुवै थरिका प्राणीको चाहना मरणोपरान्त मोक्ष प्राप्ति नै भएको र पशुले वैदिक, यज्ञादि, पूजा आदिको माध्यमबाट मोक्ष पाउने भएकोले पशुवलीलाई शास्त्रसिद्ध कुरा मानिएको छ ।
दशैंको महाअष्टमीको दिनलाई कालरात्रीको रुपमा मनाउने प्रचलनका बारेमा प्रष्ट पारिदिनुहोस् न ?

महाअष्टमी अर्थात् कालरात्रीको दिनमा देवीकोरुपमा कूमारीको पुजा अर्चना गर्ने चलन रहेको छ भने सोही दिन देवीको अस्त्रशस्त्रको पनि विधिवत् रुपमा पुजा गर्ने गरिन्छ । यसै दिन शास्त्रीय मान्यता अनुसार राज्यले प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति गरी तीन किसिमले देवीलाई पुज्ने गरिन्छ ।

पछिल्लो समयमा दशैंलाई हिन्दु मात्रको पर्व भनि केहिले बहिष्कार समेत गर्ने गरेका छन् नी ?

दशैं हिन्दु मात्रको पर्व नभईकन सम्पूर्ण मानव जातिकै पर्व हो । शक्ति, ऐश्वर्य र विवेक जोसुकै समुदायका मानिसलाई पनि अपरिहार्य भएकोले कुनै एक वर्गले मात्र मनाउने भनेर सोचाई राख्नु आफैंमा संकुचित सोचाई हो । अझ शास्त्रमा उल्लेख भए अनुसार देवी भगवतीको पुजा आराधना स्वयम् सृष्टिकर्ता ब्रम्हा, विष्णु र अर्धनारेश्वर महादेव शिवले पनि गर्ने गर्दछन् ।

२०७५ सालको बडा दशैंको टीकाको शुभ साइत के कस्तो रहेको छ ?

यसपालिको २०७५ सालको बडा दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको शुभ साइत आश्विन २४ गते बुधबार बिहान ७ः१५ बजेको समयमा छ ।

त्यस्तै सैनिकहरुको झण्डा फेर्ने साइत आश्विन २५ गते बिहिबार बिहान १०ः२४ र तुलजा भवानीको यात्रा गराउने साइत आश्विन ३० गते बिहान १०ः०२ लाई शुभ मानिएको छ ।
त्यसैगरी आश्विन ३१ गते बुधबार कालरात्री, कार्तिक १ गते बिहीबार महानवमी र कार्तिक २ गते शुक्रबार बिहान ९ः३९ मा देवी विर्सजन रहेको छ । मुख्यरुपमा टीकाको साइत कार्तिक २ गते शुक्रबार बिहान बिहान ९ः५१ मा शुभ मानिएको छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस