मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण राेकियाे

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् ।

सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् ।

आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिए।  नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ ।

वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको बताए।  आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयवासीले बताएका छन् ।

पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणको कामसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानको काम साठी प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ ।

नारच्याङको नीलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध, दुई हजार २८८ मिटर सुरुङ, एक हजार ५०० मिटर पेनस्टक पाइप र बेँशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा विद्युत्गृह रहेको छ । नारच्याङ बेँशीगाउँदेखि बाँधसम्मपुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस